Thursday, April 25, 2013

नयाँ साहित्य



सरण राई

जहिले पनि नयाँ, कहिल्यै पुरानो नहुने ‘नयाँ’ हो । हरेक युग नयाँको खोजी र प्राप्तिमा सार्थक भएको छ । नयाँनयाँप्राप्ति उद्देश्य भएको छ । नयाँ ब्रम्हाण्ड, नयाँ विश्व, नयाँ समाज नयाँ साहित्य र नयाँ ज्ञानको खोजीले मानव प्रगति भएको छ ।
नेपालको सन्दर्भमा पनि नयाँको खोजी निरन्तर भइरहेको थियो र भइरहेको छ । ‘नयाँ नेपाल’को सपना कति पटक बाँडियो, पूरा भएन भनि साध्य छैन । तापनि ‘नयाँ नेपाल’को चाहना सकिएको छैन । ‘नयाँ नेपाल’को अनुकूल हुने साहित्य ‘नयाँ साहित्य’ हो ।
अहिलेसम्म नेपालमा लेखिएका ८० % साहित्य पुरानो परम्परा, पुरानो नेपाल एवं पुरानो सामन्ती मान्यता र सोचमा आधारित रहेर लेखिएका छन् । ती साहित्यको पुनर्मूल्याङ्कन हुन थालेको छ । समयले छाडिसकेका पुराना, थोत्राहरू स्वतः मिल्किने तुरिने अवस्थामा छन् । त्यसलाई अनेकौँ नयाँ जामा भिराए पनि नयाँ विकासको बाधक मात्र बन्ने ती थोत्रा, पुरानाहरू मृत अवस्थामा छन् ।अब तिनीहरूको धङधङीमा नेपाली साहित्य जीवन्त हुन नसक्ने भएकाले ‘नयाँ साहित्य’ लेखनको आवश्यकता भएको छ ।
नेपाली साहित्यले विश्वमा आफूलाई चिनाउन र नयाँ सभ्यता, सर्वप्रिय विकास र उन्नत जीवन पद्धत्ति अनुकूल पार्न पनि नयाँ बन्नु पर्ने भएको छ । नयाँ वैज्ञानिक सोच, मान्यता एवं सभ्यता अनुकूल ‘नयाँ साहित्य’ लेखिनु जरुरी भएको छ । जुन नेपाली ‘नयाँ साहित्य’ले समस्त नेपालीहरू जो नेपाली भएर बाँच्न चाहन्छन् सबैलाई समेट्छ । उनीहरूको अनुभूति, वेदना , पीडा, इच्छा र आकाङ्क्षा ‘नयाँ साहित्य’मा व्यक्त हुन्छ र उनीहरूलाई नयाँ नेपालतर्फ  साथै नयाँ विश्वतर्फ  मार्ग निर्देशन गर्दछ ।
नेपाल पनि विश्वमा पृथक भएर एक्लै बेग्लै बस्न नसक्ने हुँदा विश्व सभ्यता र विकासमा नेपालले पनि सहभागिता र साझेदारी राख्छ । त्यस्तै प्रकारले नेपाली ‘नयाँ साहित्य’ले विश्व साहित्यकै अभिन्न अङ्गको रूपमा विश्व शान्ति, आधुनिक मानवियता, सभ्यता, संस्कार र विकासमा सहभागिता राख्दै महत्वपूर्ण योगदान गरेर आफ्नो भूमिका निर्वाह गर्दछ ।
अनुभूतिको जुनसुकै क्षेत्रमा नयाँ अनुभूत गराउने साहित्य ‘नयाँ साहित्य’ हो । नयाँ साहित्य नयाँ नेपालको साझा र सर्वप्रिय साहित्य भएकोले यो सबैलाई उत्तिकै प्रिय हुन्छ । यो नेपाली ‘नयाँ साहित्य’ विश्वमा नेपालको नयाँ परिचय–चिनारी हुनेछ ।
(२०७० वैशाख १२, धरान )

    • Shailendra Thapa  सबैको सोच यसतर्फ अभिप्रेरित होस | याहाँको यो बिचार संग १००% सहमति जनाउदै....मानिस सुन्यबाट उठेर उत्कर्समा पुग्न चाहने प्राणि हो। यसलाई स्वभाविक पनि मान्नु पर्छ। तर नेपालमा आज सम्म हामीले भोगेको सत्य के हो जस्तो लाग्छ भने, निर्णायक ठाउँमा बसेकाहरु(चाहे जुनसुकै क्षेत्रका किन नहुन)बाट आम मानिस ठगिदै आएका छन्। नविन नारा, पुराना सोच याहाँको निमितता बन्दै आएको छ। सरको यो अभिब्यक्ति वा सोचले आकार ग्रहण गरोस र साँचो अर्थमा नविन बनोस कामना छ।
      Narahari Sampang Rai एउटा महान साहित्य र बिचार

    • नाति र सरण राई